मानवजातिको एकता

“एकताको प्रकाश यत्ति शक्तिशाली हुन्छ कि यसले सम्पुर्ण संसारलाई उज्यालो पार्न सक्छ ।” – बहाउल्लाह

मानव एकता बहाई धर्मको केन्द्रविन्दु हो । यसै केन्द्रविन्दुबाट बहाई धर्मका अन्य शिक्षाहरूको विकास हुन्छ । यस सिद्धान्तलाई प्रयोगमा ल्याउन भातृत्वको भावनाको विकास गरेर मात्र पुग्दैन, यसको लागि एकता स्थापना गर्ने प्रयास आवश्यक हुन्छ । जुनबेला एकताको सिद्धान्तलाई व्यवहारमा ल्याइन्छ त्यसबेला विश्वका सबै संरचनामा परिवर्तन आउँछ ।

तर, मानव एकताको लागि सबै किसिमका पूर्वाग्रहलाई त्याग गर्नु पर्दछ । कुनै पनि व्यक्तिको रंग, राष्ट्रियता, धर्म, सम्पत्ति र आर्थिक स्थितिको आधारमा निर्णय गर्नु पनि पूर्वाग्रह हो । बहाउल्लाहले भन्नुहुन्छ, “के तिमीहरूलाई थाहा छैन हामीले किन तिमीहरू सबैलाई एउटै माटोबाट सृष्टि गरेका हौं ? त्यसो किन गरेका हौं भने कसैले पनि आफूलाई अरूभन्दा माथि नउकालोस् ।”

बहाई धर्मले ईश्वरको एकतालाई समर्थन गर्दछ, उनका अवतारहरूको एकतालाई मान्यता दिन्छ र सम्पूर्ण मानवजातिको एकता र पूर्णताको सिद्धान्तलाई जगाउँछ । यसले मानवजातिको एकिकरणको आवश्यकता र अपरिहार्यताको घोषणा गर्दछ, यो क्रमशः नजिकै आउँदैछ भनि दाबी गर्दछ र … यसबाहेक, यसले आफ्ना अनुयायीहरूलाई सत्यको खोजीगर्ने प्राथमिक कर्तव्यको आज्ञा दिन्छ, सबै किसिमका पूर्वाग्रह र अन्धविश्वासको निन्दा गर्दछ, धर्मको उद्देश्य सौहार्द्र र सदभावको प्रवर्द्धन भएको घोषणा गर्दछ, विज्ञानसँग यसको आवश्यक सामञ्जस्यताको घोषणा गर्दछ र यसलाई शान्ति र मानव समाजको व्यवस्थित प्रगतिको सबभन्दा महत्वपूर्ण एजेन्सिको रूपमा मान्यता दिन्छ । यसले पुरुष र महिलाको लागि समान अधिकार, अवसर र विशेषाधिकारको सिद्धान्तलाई निर्विवाद रूपमा कायम राख्दछ, अनिवार्य शिक्षामा जोड दिन्छ, गरिबी र धनीको चरम सीमालाई हटाउने मान्यता राख्दछ । आफ्नो देशको सरकारप्रति बफादारीको आवश्यकतालाई जोड दिन्छ, सेवाको भावनाले गरिएको कुनै पनि कामलाई उपसानाको स्तरमा उचाल्छ, कि त सृजित वा सहायक अन्तर्राष्ट्रिय भाषाको चयन गर्न आग्रह गर्दछ, र ती संस्थाहरूको रूपरेखा चित्रण गर्दछ जुन स्थापित र स्थायी हुनुपर्छ, मानवजातिको सामान्य शान्तिको लागि ।

नेपालमा एक सयभन्दा बढी जातजातिहरू छन् । तिनीहरूको आफ्नै भाषा र आफ्नै संस्कृतिहरू छन् । कुनै बगैंचामा विभिन्न रंगका फूलहरू, विभिन्न आकारमा र आफ्नै भित्र सुगन्ध सहित फूलले भने त्यो बगैँचा सुन्दर र रमणिय हुन्छ । त्यस्तै, देशका विभिन्न भाषा तथा संस्कृतिलाई पनि त्यसरी नै हेर्न सकिन्छ ।

बहाई धर्मले ती एकसय भन्दा बढी जातजाति र तिनीहरूका संस्कृतिलाई आदर र सम्मान गर्दछ र तिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने विश्वास गर्दछ । यही भावना अनुरूप संसारका सबै बहाई मन्दिरहरूमा जुनसुकै धर्मका अनुयायी, जातजाति, संस्कृति, रीतिरिवाज, भाषाभाषीका मानिसहरू प्रवेश गरेर प्रार्थना गर्न सक्दछन् ।