शिक्षक तालिम कार्यक्रम

बहाई धर्मको ईतिहासलाई हेर्ने हो भने सामुदायिक विद्यालयको अवधारणा बहाउल्लाह र अब्दुलबहाकै समयदेखि ईरानबाट शुरू भएको पाईन्छ । त्यसपछि १९७० र १९८० को दशकमा विश्वका कैंयौं देशहरूमा ट्यूटोरियल स्कुलहरू पनि शुरू भएको र हाल केही देशहरूमा ती स्कुलहरू सामुदायिक विद्यालयको प्रक्रिया अनुसार चलिरहेका छन् ।

नेपालमा सामुदायिक विद्यालयहरूको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले २००९ जनवरी देखि बहाई शिक्षक तालिम कार्यक्रमको शुरूवात भयो । तालिम कार्यक्रमले बहाई समुदायका युवाहरूको लागि ६ हप्ते तालिम कार्यक्रम निर्धारण गर्‍याे र उक्त तालिमद्वारा उनीहरूको बौद्धिक र आध्यात्मिक क्षमताको विकास गर्ने कार्य शुरू गर्‍याे । हाल यो तालिम कार्यक्रमले समुदायको क्षमता अविवृद्धि गर्ने कामको साथै किन्डरगार्टेन तह सम्मका बालबालिकाहरूलाई नैतिक सिद्धान्तमा आधारित प्राज्ञिक अध्ययनका बिषयहरू भाषा, विज्ञान, गणित, कला, संगीत आदि बिषयवस्तुहरूमा दक्षता हासिल गर्न शिक्षकहरूलाई मद्दत गर्नुकोसाथै बालबालिकाहरूलाई बहाउल्लाहको सिद्धान्त अनुसार शिक्षा र तालिम दिन मद्दत गरेको छ ।

प्राज्ञिक अध्ययनको लागि भने नेपालको सरकारद्वारा मान्यता प्राप्त विभिन्न प्राईभेट पब्लिकेशनहरूले प्रकाशन गरेका किताबहरू प्रयोग गर्ने गरेका छौं साथै लण्डनको शिक्षकहरूको एउटा समूहले तयार पारेको फनिक्स कार्यक्रम र दोस्रो भाषाको रुपमा अंग्रेजी बिषय नामको पुस्तकबाट केही क्रियाकलापहरू छानेर पढाउने गरेका छौं तर माथि उल्लेखित बिभिन्न बिषयका ती पाठहरूलाई पूर्ण बनाउन आध्यात्मिक बिषयवस्तुहरूलाई पाठमा कसरी समावेश गर्न सकिन्छ भन्ने कुराहरू पनि सिकाउने गरिन्छ ।