विश्व न्याय गृह

विश्वभरी आज बहाई धर्मको विकासलाई विश्व न्याय गृहले मार्गदर्शन गर्दछ । आफ्नो नियमको पुस्तकमा, बहाउल्लाहले विश्व न्याय गृहलाई जनकल्याणमाथि सकारात्मक प्रभाव पार्न, शिक्षा तथा शान्ति एवं विश्व समृद्धि प्रोत्साहित गर्न र मानवीय मर्यादा अनि धर्मको स्थितिको सुरक्षा गर्न निर्देशित गरे ।

यो बहाई धर्मको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था हो । यसका सदस्यहरू संसारभरका राष्ट्रिय आध्यात्मिक सभाका सदस्यहरूद्वारा निर्वाचित नौ जना धर्मका विशिष्ट र विशुद्ध आत्माहरू हुन्। यस चुनावमा प्रत्येक संसारभरका राष्ट्रिय आध्यात्मिक सभाका नौ जना सदस्यहरू मतदाता हुन्छन्। तर उनीहरूले संसारभरका कोही पनि २१ वर्ष माथि पुगेका नौ जना वयस्कहरू ५ वर्षको लागि निर्वाचित गर्दछन्। बहाउल्लाहले आफूलाई ईश्वरीय अवतारको रूपमा घोषणा गरेको ठिक एक सय वर्ष अप्रिल सन् १९६३ मा विश्व न्याय गृहमा पहिलो निर्वाचन इजरायलको हाईफामा सम्पन्न भयो । त्यसपछि प्रत्येक ५ वर्षमा यसको अन्तराष्ट्रिय अधिवेशन हुन्छ र यसको कार्यालय हाइफाको माउन्ट कार्मेलमा अवस्थित छ । विश्व न्याय गृहले संसारभरी बहाई धर्मको संरक्षण, प्रवर्द्धन र नियमन गर्दछ ।