नेपालमा बहाई धर्मको इतिहास

नेपालमा सबभन्दा पहिले बहाई धर्मबारे चर्चा गर्ने बझाङ्गका राजा जय पृथ्वी बहादुर सिंह हुन् । बहाई विश्व भोल्युम IX, पृष्ठ 585-587 उनकै शब्दमाः “१९२९ वा त्यसभन्दा केही वर्ष पहिले, मैले बहाउल्लाहको नाम र बहाई धर्मको बारेमा सुनेको थिएँ । जब म जातजाति, राष्ट्रहरू र व्यक्ति व्यक्तिबीच शान्ति र एकतालाई अगाडि बढाउन मानववादको पद्धति विषयमा बोल्नको लागि युरोपको भ्रमणमा निस्केँ, त्यस बेला एकपटक म फेरि बहाउल्लाह र उनको शिक्षाहरूप्रति आकर्षित भएँ । यस विषयमा मेरा मित्र लेडी ब्लुमफिल्डले पुस्तकहरू दिनु भएको थियो ।

त्यसपछि १९३३ मा धर्महरूको दोस्रो “पार्लियामेन्ट” अथवा धर्महरूको विश्व “फेलोशिप” को सम्मेलन संयुक्त राज्य अमेरिका स्थित शिकागो शहरमा सम्पन्न भएको थियो । उच्च आदर्शहरू र पारस्परिक समझदारी सदभावना, आपसी सहयोग, शान्ति र प्रगतिको लागि यो एउटा यस्तो सम्मेलन थियो जसले मलाई ठूलो प्रेरणा प्रदान गर्‍यो । त्यसैले म त्यो सम्मेलनमा उपस्थित भई सहभागी हुन गएँ । त्यहाँका केही बहाई अनुयायीहरूले गर्दा मेरो ध्यान पुनः बहाई धर्ममा आकर्षित भयो । बहाईहरूले मलाई विलमेट, इलिन्वाई स्थित आफ्नो मन्दिरमा लैजानु भएको थियो । त्यसबेला यो बहाई मन्दिर निर्माणाधिन अवस्थामा थियो, तर लगभग पूरा हुन लागि सकेको थियो । मलाई मन्दिरको प्रार्थना कक्ष र नौवटा प्रवेश द्वारहरू देखाइयो र यो मन्दिरमा पस्न र प्रार्थना गर्न सबैलाई स्वागत छ ।

पछि १९३६ मा म रङ्गुनमा थिएँ, त्यहाँ मलाई एउटा सौभाग्य मिल्यो त्यो के भने मलाई महशूस भयो कि म आफैलाई बहाई शिक्षाहरूलाई अगाडि बढ्न मद्दत गरिरहेका थिए । क्यानाडाका एकजना बहाई, श्री स्कोपल्फछर शिक्षण भ्रमणको लागि रङ्गुन पुग्नु भएको थियो । उहाँले मलाई त्यहाँका मानिसहरूसँग परिचय गराउनु भयो र शिक्षण कार्यक्रममा अध्यक्षता ग्रहण गर्न आग्रह गर्नुभयो । त्यसबेला मलाई केही बहाई पुस्तकहरू प्राप्त भएका थिए, र ती पुस्तकहरू पढेर बहाई धर्मका उत्कृष्ट शिक्षाहरू प्रति मेरो ध्यान आकर्षित भयो । यस्ले विश्वका प्रमुख धर्महरूका विशेषता र तीनका दृष्टिकोणहरूलाई स्वीकार गरेको मात्र हैन, अझ एक पाइला अगाडि बढेर सम्पूर्ण धर्महरू एउटै हुन्, सबै धर्महरू भविष्यद्रष्टा हुन्, महात्माहरू र अवतारहरू धार्मिक भविष्यद्रष्टा हुन्, सबै अवतारहरू एउटै हुन्, सम्पूर्ण मानवजाति एउटै हो, र हामीले सबैलाई भातृत्वको दृष्टिकोणले हेर्नु पर्दछ, र यसै अनुसार काम गर्नु पर्दछ । जात जाति, वर्ग–वर्ग, राष्ट्र–राष्ट्र र सम्प्रदाय–सम्प्रदायमा हाम्रो जीवशक्ति जसरी विभाजित भएको छ त्यसको प्रभावबाट हामी माथि उठ्नु पर्दछ, यहि नै हो हाम्रो लक्ष्य । एउटै नियतिले सम्पूर्ण मानव जातिलाई बाँधिन सक्छ । विश्व एकताको तथ्य अरु अभिरुचि तथा सोचविचार भन्दा उच्च हुन्छ ।

त्यसपछि सुरतका एकजना बहाई श्री एन.आर. वकिलले मलाई एउटा पुस्तक दिनु भयो, “बहाई विश्व १९३६–१९३८ । यो पुस्तक मैले पुरै पढ्न नपाए पनि यस पुस्तकमा समावेश भएको जानकारी मेरो लागि एउटा खानी जस्तै थियो ।”