नेपालमा पहिलो बहाई समुदाय त्यसवेला बन्यो जुनबेला सिक्किमबाट केदार प्रधान नेपालमा आए । उनी १९५६ मा नेपाल प्रवेश गरे र केही महिना काठमाडौं उपत्यकामा बसे । उनले थुप्रै भेलाहरू आयोजना गरे र त्यस अवधिमा केही व्यक्तिहरूले बहाई धर्म स्वीकारे । १९५७ मा ती शुरु शुरुका बहाईहरूले एउटा अस्थायी प्रशासनिक समिति गठन गरे। तर, १९५८ मा काठमाडाैमा पहिलो स्थानीय आध्यात्मिक सभा गठन भयो र औपचारिक रुपमा त्यस्को कार्यालय पनि नयाँ सडकमा खोलियो । त्यो पहिलो स्थानीय आध्यात्मिक सभाको प्रतिष्ठापनमा नेपालको विख्यात लेखक तथा कवि बालकृष्ण सम प्रमुख अतिथिको रुपमा उपस्थित थिए । शुरु शुरुका बहाईहरूले राम्ररी सम्झन्थे विश्वज्योति सिनेमा हलमा आयोजना भएको कार्यक्रमको, जसमा भारतकी श्रीमती शिरिन फाेज्दार बहाई वक्ता र बालकृष्ण सम प्रमुख अतिथि थिए ।
सन् १९६० को दशकको अन्त्यसम्म बहाईहरूका क्रियाकलाप खासगरी काठमाडौंमा सीमित थियो, तर दक्षिणमा बीरगञ्ज र पूर्वमा बिराटनगर क्षेत्रमा पनि केही क्रियाकलाप देखिन थालेको थियो । सदस्यता बढ्दै गएपछि, काठमाडौं लगायत अन्य केही स्थानहरूमा स्थानीय आध्यात्मिक सभा गठन हुन थाले ।
नेपालको पहिलो राष्ट्रिय आध्यात्मिक सभा सन् १९७२ मा गठन भयो । काठमाडौंमा आयोजना भएको राष्ट्रिय अधिवेशनमा, भक्तपुर, बीरगञ्ज तथा बिराटनगर क्षेत्रबाट चुनिएका प्रतिनिधिहरू सहभागी भएका थिए । विश्व न्याय गृहको प्रतिनिधित्व गर्दै धर्मभूजा श्री अलि अक्बर फुरुतानले भाग लिए । उनकै प्रेरणादायी निर्देशनमा नेपालको पहिलो राष्ट्रिय आध्यात्मिक सभा गठन भयो ।
तर, नेपालको राजनीतिक परिस्थितिले गर्दा १९७५ मै विश्व न्याय गृहको निर्देशनमा राष्ट्रिय आध्यात्मिक सभा र सबै स्थानीय आध्यात्मिक सभाहरू विगठन भए । नेपालमा बहाई धर्मको मामला हेर्नका लागि एउटा प्रशासनिक समिति गठन गरियो । पछि, सन् १९८२ मा राष्ट्रिय आध्यात्मिक सभा पुनः गठन भयो र त्यसपछि हरेक बर्ष नियमित रूपले राष्ट्रिय सभा तथा स्थानीय सभाहरू गठन भइरहेका छन् ।
सन् १९७० र १९८० का दशकहरूमा बहाई धर्मको विस्तार र सुदृढिकरणमा विभिन्न देशबाट आएका अग्रणी (पाइयोनीर)हरूको महत्वपूर्ण भूमिका छ । यी व्यक्तिहरू र यिनीहरूले गरेका समर्पित सेवा बारे यसै वेबसाइटमा प्रस्तुत गर्ने लक्ष्य राखेका छौं । साथै हाल भइरहेका क्रियाकलापहरू र तिनीहरूका लक्ष्य बारे पनि विवरण प्रस्तुत गरिनेछ ।